सेयर विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टिकरण: “आरोप होइन, प्रमाणका आधारमा निर्णय गरियोस्”
७ वैशाख, काठमाडाैँ । गृहमन्त्री सुदन गुरुङले पछिल्लो समय आफूविरुद्ध उठाइएका विभिन्न आरोपबारे स्पष्टिकरण दिनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा “२५ लाखको सेयर लुकाइएको” लगायतका आरोपहरू तथ्यहीन भएको दाबी गरिएकाे छ ।
उहाँका अनुसार आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको सेयर लगानी सम्पत्ति विवरणमै उल्लेख गरेको र उक्त विवरण मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिनेछ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र पर्ने भएकाले यसलाई लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको उहाँकाे जिकीर छ ।
गुरुङले मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई लिएर उठेका प्रश्नप्रति पनि प्रतिक्रिया दिँदै सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गर्नुभएकाे छ। उहाँका अनुसार सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र पैसाको स्रोतसमेत स्पष्ट रूपमा प्रमाणित गर्न सकिनेछ। उहाँले आफूले लगानी गरेको रकम २०८० भदौ २९ गतेको तमसुकअनुसार ऋणमार्फत जुटाइएको र सो रकम बैंकमार्फत आएको बताउनुभएकाे छ ।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति उहाँले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएको तर्क गर्नुभयाे। त्यही कम्पनीमा बैंक, मिडिया हाउस लगायत विभिन्न क्षेत्रका लगानीकर्ताहरू पनि रहेको उल्लेख गर्दै सबैलाई एउटै आधारमा दोषी ठहर गर्न नमिल्ने बताउनुभयाे ।

“Conflict of interest” सम्बन्धी आरोपबारे उहाँले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको र सोही निकायले प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको जानकारी दिनुभयाे। आफूले कुनै हस्तक्षेप नगरेकाले छानबिन प्रक्रिया अगाडि बढिरहेको उहाँको दाबी छ।
यसैगरी “पृष्ठभूमि नजाँची लगानी” भन्ने आरोपप्रति उहाँले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने र पछि भएका घटनाका आधारमा अघिल्लो निर्णयलाई दोष दिनु उचित नहुने बताउनुभयाे। कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिएको पनि उहाँले स्पष्ट पार्नुभयाे।
अन्त्यमा गृहमन्त्री गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै कुनै पनि निष्कर्ष प्रमाणका आधारमा हुनुपर्ने बताउनुभएकाे छ। साथै, पार्टीले गर्ने निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएकाे छ ।
प्रकाशित मिति : 14:10









