मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्दै आशुतोष इनर्जी, क-कसले भर्न पाउछन् ?
३ मंसिर, काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ६ करोडरुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गारखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३ लाख कित्ता सेयर अतिप्रभावित क्षेत्र बाहेकको दुधपोखरी गाउँलिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
साथै कम्पनीले सर्वसाधारणमा निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ६० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २८ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मंसिर १७ गतेभित्र आवेदन दिनु पर्नेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा दसइस प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : November 19, 2026 at 11:39 am













