५३ करोड ८१ लाख जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका गुलसन पक्राउ
२ मंसिर, काठमाडौं । राजस्व चुहावटको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रीवास्तवले सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयङ्क इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल नामका पाँचवटा कम्पनीको प्रोप्राइटर रहेर नक्कली बिजकमार्फत कारोबार गरेको थिए । उक्त अभियोगमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो ।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसहितको प्रतिवेदनका आधारमा दायर भएको मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।

प्रकाशित मिति : November 18, 2026 at 2:48 pm













