३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

५३ करोड ८१ लाख जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका गुलसन पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । राजस्व चुहावटको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

श्रीवास्तवविरुद्ध विभिन्न पाँच कम्पनीमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको आरोपमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो । उनी संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलका सञ्चालक हुन् ।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसहितको प्रतिवेदनका आधारमा दायर भएको मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।

प्रकाशित मिति : November 18, 2026 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/