एनपिएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ
२ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया छन्। उनी काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग–२०२६ का खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा पथरियाले एनपिएलका विभिन्न क्रिकेट खेलमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको रकम सट्टेबाजीमार्फत कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। उनीमाथि जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रकाशित मिति : November 18, 2026 at 12:26 pm













