मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
२ मंसिर, काठमाडौं । मलेसिया रोजगारीका लागि जाने नेपाली श्रमिकबाट उठाइएको ठूलो रकम नेपाल–मलेसिया सरकारबीच भएको समझदारी र कानुनी प्रक्रियाविपरीत विदेश पठाउने निर्णय गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना प्रहरी अनुसन्धानमा तानिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
सीआईबीले यो प्रकरणलाई सामान्य प्रशासनिक निर्णयको विषयका रूपमा मात्रै नभई ठगी तथा संगठित अपराधसँग जोडिएको कसुरका रूपमा अनुसन्धान अघि बढाएको छ।
ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीको विपरीत हुने गरी श्रमिकबाट रकम संकलन गरिएको थियो। संकलित रकममध्ये ६३ लाख ७० हजार ४३९ अमेरिकी डलर २२ सेन्ट र ३७ लाख १७ हजार ९८० पाउन्ड ८ पेन्स गरी ठूलो परिमाणको विदेशी मुद्रा मलेसिया पठाउने निर्णय भएको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ।

प्रहरीले उक्त रकमको नेपाली मूल्य १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबर रहेको जनाएको छ।
सीआईबीका अनुसार सम्झौता र कानुनी प्रक्रियाको विपरीत विदेशी मुद्रा अपचलन गराउने उद्देश्यले निर्णय गरिएको तथा त्यसबाट संगठित समूहलाई लाभ पुग्ने अवस्था सिर्जना गरिएको आरोपमा पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूमाथि अर्को गम्भीर आरोप पनि लगाएको छ। श्रमिकहरू ठगीमा परेको जानकारी हुँदाहुँदै कानुनी उपचारको पहल नगरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत काम गरेको आरोप उनीहरूमाथि छ।
यो प्रकरणको अनुसन्धान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अघि बढाइएको सीआईबीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर ब्युरोले काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित मिति : November 18, 2026 at 10:13 pm













