६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सिआईबी प्रमुख नै समाचार जस्तै देखिने सामग्रीको शिकार, प्रेस काउन्सिलको ध्यानाकर्षण

२३ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको पूर्व तयारी चलिरहेको समयमा प्रतिस्पर्धामा रहेका उम्मेदवारले अर्का उम्मेदवारको बारेमा समाचार जस्तै देखिने गरी गलत सूचना बाँड्न थालेको पाइएको छ । महानिरीक्षकको प्रतिस्पर्धामा रहनुभएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डा मनोज केसी आइतबार यस्तै घटनाबाट पीडित हुनुभएको छ ।

रिपब्लिकदैनिक र फरकप्रेसमा केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भन्दै समाचार जस्तै देखिने सामग्री प्रकाशित भएको भएको थियो । लगत्तै ब्यूरोका प्रमुख डा केसीले प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउँदै कानुन अनुसार कारबाहीको माग गर्नुभएको छ । केसीले ओलीसँग भेटेको प्रमाण दिन समेत चुनौति दिनुभएको छ ।

नेपाल प्रहरीका उच्च अधिकृत मध्ये राजनीतिक दलका नेताको दैलो नचाहार्नेमा अग्रपंक्तिमा नाम आउने केसीको बद्नाम गराउने उद्देश्यले भक्तपुरको गुण्डुमा पुगेर ओलीसँग भेटवार्ता गरेको भनेर गलत सूचना फैलिएपछि उहाँले काउन्सिल मार्फत त्यसको खण्डन गर्नुभएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार २१:२९