११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

नाडेप लघुवित्तको १० औं साधारण सभा सम्पन्न

२५ जेठ, काठमाडाैं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १० औं साधारण सभा धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको हो ।

सभामा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ ।

यस्तै चालु आवका लागि लेखापरीक्षककको नियुक्ति गर्ने तथा राष्ट्र बैंकको निर्देशनमा भएको व्यवस्था बमोजिम सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

उक्त अवसरमा संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक जारी मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन अधिनमा कार्यक्रम संञ्चालन गर्न व्यवस्थापनलाई निर्देशन दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १३:५७