१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा ३ करोड ३४ लाख, कस्तो छ अन्य वित्तीय सूचक ?

१५ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य गिरावट व्यहोरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजारमा सीमित भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६.११ प्रतिशतले सामान्य घटेर २१ करोड ५६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यवस्था २२ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन मुनाफा ५७.६२ प्रतिशतले घटेर ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा झरेको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ थियो ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ७.१५ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ५० करोड ९८ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब २१ करोड ६८ लाख रुपैयाँबाट घटेर १ अर्ब २ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ६६ करोड ७६ लाख रुपैयाँबाट घटेर ५१ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप १.८२ प्रतिशतले बढेर ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँबाट ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि २.९७ प्रतिशतले बढेर ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँबाट ४७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । बैंकको कुल निष्कृय कर्जा गत आर्थिक वर्षको पहिलो त्रैमासको ६.८६ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ७.६४ प्रतिशत पुगेको छ ।

हाल ३ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको चालु आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ करोड ३२ लाख ७३ हजार रुपैयाँ ऋणात्मक (नोक्सानीमा) रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ९२ पैसाबाट घटेर ३ रुपैयाँ ४५ पैसामा खुम्चिएको छ । बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२२.४६ गुणा  र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रकाशित मिति : November 1, 2026 at 5:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/