८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

भैरहवा विमानस्थलका लागि भारतीय आकाशको अर्को ढोका खुल्ने सहमतिले निजी क्षेत्र उत्साहित

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौँ । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपालको नागरिक उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष सिएन पाण्डेले नेपाल–भारतबीच भएको सहमतिको स्वागत गर्दै यसले नेपालको हवाई उड्डयन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

उनका अनुसार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको भारत भ्रमणका क्रममा लामो समयदेखि काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउनुपर्ने विषय उठाउँदै आएको थियो। तर, यसअघि भारतीय पक्षबाट उक्त माग सम्बोधन हुन सकेको थिएन। यसपटक भने दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिमा यो विषय समेटिनु सकारात्मक भएको उनले बताए।

पाण्डेले यस सहमतिले नेपालको हवाई उड्डयन क्षेत्रलाई ठूलो टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। विशेषगरी हवाई मार्गको प्रयोगमा सहजता आउँदा विमानस्थल सञ्चालन, हवाई सेवा विस्तार र उडान व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाइनेछ । यसका लागि दुवै देशका प्राविधिक अधिकारीहरूले परामर्श गरी आवश्यक प्रक्रिया र सञ्चालनसम्बन्धी व्यवस्था टुंग्याउनेछन् ।

हाल एकतर्फी रहेको यो रुटलाई दुईतर्फी बनाउँदा विमानले दुवै दिशाबाट उक्त हवाई मार्ग प्रयोग गर्न पाउनेछन् । यसले उडान सञ्चालनमा थप विकल्प उपलब्ध गराउनुका साथै हवाई मार्ग व्यवस्थापनलाई सहज बनाउन सक्ने अपेक्षा गरिएको छ ।

पाण्डेका अनुसार नेपालको आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न पनि यस्तो व्यवस्थाले सहयोग पुर्‍याउन सक्छ। हवाई मार्गको उपलब्धता र उडान व्यवस्थापनमा सहजता आउँदा जहाजले अनावश्यक रूपमा आकाशमा प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्यतर्फ सहयोग पुग्ने उनको बुझाइ छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपाल–भारत हवाई सम्पर्क विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यद्यपि, सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक परामर्श र प्रक्रिया पूरा हुन बाँकी छ ।

प्रकाशित मिति : November 23, 2026 at 5:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/