प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६० करोड माथि
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा प्राइम कमर्सियल बैंक लिमिटेडले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ५.६२ प्रतिशतले खुम्चिएको हो। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी भने ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ७४ लाख ४७ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो। मुख्य आम्दानीका सूचकमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ४.६२ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड ३८ हजार रुपैयाँ कायम भएको छ। इम्पेयरमेन्ट खर्च ४८ करोड ९ लाख ८१ हजार रुपैयाँबाट २८.३० प्रतिशतले बढेर ६१ करोड ७० लाख ८३ हजार रुपैयाँ पुगेपछि बैंकको सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड १९ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ।

यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा (बाँड्न मिल्ने नाफा) मा पनि संकुचन आएको छ। असोज मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ३२.६१ प्रतिशतले घटेर २ अर्ब ५ करोड १७ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। जुन गत वर्षको सोही अवधिमा ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ रहेको थियो। यसमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाइबाट बाँड्न मिल्ने नाफा भने १३ करोड ७१ लाख ४७ हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५.८४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७.१५ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह बढेको छ भने निक्षेप संकलनमा सामान्य गिरावट देखिएको छ। गत असार मसान्तको तुलनामा बैंकको कर्जा प्रवाह ३.९० प्रतिशतले विस्तार भई २ खर्ब ३५ अर्ब २७ करोड ७० लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ, कुल निक्षेप संकलन भने ०.७५ प्रतिशतले घटेर २ खर्ब ७५ अर्ब ६५ करोड ९९ लाख रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि घटेकाे छ छ। गत वर्षको पहिलो त्रैमासमा वार्षिक २३.७४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २२.६७ रुपैयाँमा झरेको छ।
प्रकाशित मिति : November 1, 2026 at 11:46 am










