नेप्सेमा १ अर्ब ८२ करोड बराबरको बोनस सेयर सूचिकृत
४ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १ अर्ब बढीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा १ अर्ब ८२ करोड बराबरको बोनस सेयर सूचिकृत भएकाे हाे । साथै, याे अवधिमा १३ अर्ब ४९ करोड बराबरको साधारण सेयर, २३ करोड बराबरको हकप्रद सेयर र ८२ करोड बराबरको अन्य (मर्जरपश्चात्) गरी कुल रु.१६ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, रु.७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २० करोड बराबरको डिबेन्चर र रु.८८ करोड बराबरको साधारण सेयर गरी कुल रु.१७ अर्ब ६२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
२०८३ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ३०५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ११२ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.७ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ असोज मसान्तमा सूचीकृत ९ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु.९५४ अर्ब ६० करोड रहेको छ ।
प्रकाशित मिति : November 20, 2026 at 10:47 am













