कृषि यान्त्रीकरण र महिला उद्यमीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँग भारत जाँदै सुनिता नेम्हाफुकी
५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपालको कृषि क्षेत्र, कृषि यान्त्रीकरण र महिला उद्यमशीलताको प्रतिनिधित्व गर्दै कृषि उद्यमी सुनिता नेम्हाफुकी पनि सहभागी हुने भएकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन्। भ्रमणमा सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रका व्यवसायीसमेत सहभागी हुँदैछन्। सोही क्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघकी उपाध्यक्ष, आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिकी अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य एवं महिला उद्यमी विकास समितिकी सभापति नेम्हाफुकी भारत जान लागेकी हुन्।
कृषि यान्त्रीकरणको क्षेत्रमा व्यवसायिक रूपमा सक्रिय नेमाफुकीको सहभागिताले प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रका अन्य विषयसँगै कृषि प्रविधि र कृषि मेसिनरीको विषयलाई पनि प्रत्यक्ष रूपमा उठाउने अवसर दिएको छ।
नेपालको कृषि क्षेत्रमा उत्पादन लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने र व्यावसायिक कृषि विस्तार गर्ने क्रममा कृषि यान्त्रीकरणको आवश्यकता बढ्दै गएको छ। तर कृषि मेसिनरीको आयात, प्रयोग, मर्मतसम्भार, प्राविधिक जनशक्ति र किसानको पहुँचलगायतका विषय अझै चुनौतीका रूपमा छन्।
भारत कृषि मेसिनरी, कृषि प्रविधि, सिँचाइ तथा कृषि प्रशोधनका क्षेत्रमा ठूलो बजार र उत्पादन क्षमता भएको मुलुक भएकाले नेपालका लागि प्रविधि तथा व्यावसायिक सहकार्यको सम्भावना रहेको छ। यस्तो अवस्थामा नेपाल–भारतबीच कृषि मेसिनरीको व्यापार मात्र नभई प्रविधि हस्तान्तरण, प्राविधिक जनशक्ति विकास, मर्मत तथा सेवा केन्द्र स्थापना र नेपाली कृषकको आवश्यकता अनुसारका उपकरणको विकासका विषयमा सहकार्यको सम्भावना खोज्न सकिन्छ।

नेम्हाफुकीले भारत भ्रमणका क्रममा नेपालमा कृषि यान्त्रीकरणको अवस्था, किसानले भोगिरहेका समस्या र भारतसँग गर्न सकिने व्यावसायिक तथा प्राविधिक सहकार्यका विषय उठाउन सक्नेछिन्। विशेषगरी साना तथा मझौला किसानको पहुँचमा कृषि मेसिनरी पुर्याउने र कृषि उपकरणको प्रयोगलाई व्यावसायिक कृषिसँग जोड्ने विषय महत्वपूर्ण हुन सक्छ।
यस्तै उनले नेपालका महिला उद्यमीका लागि बजार विस्तार, प्रविधिमा पहुँच, वित्तीय सहजीकरण र नेपाल–भारतबीच महिला उद्यमीको व्यावसायिक सञ्जाल विस्तारका विषय पनि उठाउन सक्ने सम्भावना छ।
नेपालका महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका लागि भारतीय बजारमा पहुँच विस्तार गर्ने, दुई देशका महिला उद्यमीबीच व्यावसायिक सम्बन्ध स्थापित गर्ने विषयमा निजी क्षेत्रबाट पहल आवश्यक रहेको अवस्थामा उनको सहभागिताले त्यस्ता विषयलाई सम्बन्धित तहसम्म पुर्याउने अवसर दिने विश्वास गरिएकाे छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा कृषि क्षेत्रलाई उत्पादनको विषयका रूपमा मात्रै नभएर कृषि प्रविधि, मेसिनरी, प्रशोधन, बजार र निर्यातसँग जोडेर हेर्नुपर्ने विषय पनि महत्वपूर्ण बन्न सक्छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा सरकारीतर्फबाट ३४ सदस्य र निजी क्षेत्रबाट ५२ जना उद्योगी-व्यवसायी सहभागी हुने छन्।
प्रकाशित मिति : November 21, 2026 at 8:51 am













