१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

विदुर १ का बाढीपीडितलाई ५० हजारको खरिद भौचर, सामान भाटभटेनीमै किन्नुपर्ने

११ कात्तिक, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का बाढीपीडित लाभग्राहीलाई भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्न मिल्ने ५० हजार रुपैयाँ बराबरको भौचर वितरण गरिने भएको छ ।

ताइवानको चुजी फाउन्डेसनको सहयोगमा विदुर नगरपालिकाको अनुमतिअनुसार उक्त भौचर वितरण गर्न लागिएको हो । भौचर वितरण कार्यक्रम आगामी कात्तिक १६ गते आइतबार बट्टारस्थित रानी मौरी ब्याङ्क्वेटमा सञ्चालन हुने वडा अध्यक्ष लेनिन रञ्जितले जानकारी दिएका छन ।

फाउन्डेसनका अनुसार उक्त दिन बिहान ८ बजेदेखि ११ः३० बजेसम्म भौचर वितरण गरिनेछ । सम्बन्धित लाभग्राही स्वयं वा निजको एकाघरका परिवारका सदस्यले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित भएर भौचर प्राप्त गर्न सक्नेछन् ।

भौचर वितरणका लागि तोकिएको समय बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मात्र सेवा उपलब्ध हुने जनाइएको छ । निर्धारित समयभित्र उपस्थित हुन नसक्ने लाभग्राहीलाई भौचर वितरण गर्न नसकिने भएकाले सम्बन्धित सबैलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ ।

बाढीपीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त कार्यक्रमबाट विदुर नगरपालिका वडा नम्बर १ का सम्बन्धित लाभग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : October 28, 2026 at 12:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/