पत्रकारिता माथि प्रहरीको प्रहार : बिहीबार खुला धम्की, शुक्रबार पक्राउ
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विपद्को जोखिम न्यूनीकरणमा सञ्चारकर्मीसँग सहकार्यको अपेक्षा गरिरहेका बेला सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने घटनाले उनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
आईजीपी कार्कीले वर्षा, सम्भावित हावाहुरी र विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको सहयोग अपेक्षा गर्दै निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको प्रशंसा गरेका छन् । तर, सञ्चारगृहमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने तथा दुर्व्यवहार गर्ने कार्कीको व्यवहारप्रति सबैखालाका संघसंस्था र समूदाय र व्यक्तिले आपत्ति जनाएका छन ।
कार्कीले आफ्नो सन्देशमा विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने विषयमा नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछौँ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ कार्कीको सन्देशमा भनिएको छ।

यसैबीच, प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले सञ्चारकर्मीहरू आबद्ध मिडिया ग्रुपमा मध्यरातमा सन्देश पठाउँदै प्रहरीको पछिल्लो कदमको बचाउ गरेका छन्।
काफ्लेले पठाएको सन्देशमा नेपाल प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रचार भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि त्यसबारे तथ्य, सत्यता र कानुनी आधार बुझ्न साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको उल्लेख छ। उक्त कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गत सही मनसायले गरिएको उनको सन्देशमा दाबी गरिएको छ।

यसैबीच प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित भइरहेको भन्दै ध्यानाकर्षण भएको भन्दै कारबाहीको धम्कीसहितको विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिमा प्रहरी संगठनलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तान्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको थियो ।
प्रहरी नायब महानिरीक्षक काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको थियो ।
यसबाट के प्रष्ट हुन्छ भने प्रहरीले बिहीबार मिडिया माथि कारबाही गर्ने सार्वजनिक धम्की दियो, शुक्रबार पत्रकारहरू माथि धरपकड गरेर दुःख दियो भने शनिबार बिहानै आईजीपी कार्कीले सबै क्षेत्रबाट बिरोध भएपछि पत्रकारबाट साहसिक रिपोर्टिको अपेक्षा गरिएको दाबी गर्दै टिप्पणी लेखेका छन । उनले पक्राउको कारण खुलाउनुको साटो विपद्को कुरा जोडेर ध्यान मोड्ने प्रयास गरेका छन ।
प्रकाशित मिति : October 31, 2026 at 12:08 pm










