वाणिज्य बैंकको औसत खराब कर्जा ५.६४ प्रतिशत, कुनको अवस्था कस्तो ?
१५ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा एक वर्षमा बढेर ५.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४.८५८ प्रतिशत रहेको खराब कर्जा असोज मसान्तसम्म बढेर ५.६४१ प्रतिशत पुगेको हो। यस अवधिमा खराब कर्जा ०.७८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको छ। बैंकको खराब कर्जा गत वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर १४.८० प्रतिशत पुगेको छ। एक वर्षमा बैंककाे खराब कर्जा ९.०२ प्रतिशतले बढेकाे छ ।
याे अवधिमा एनआईसी एसिया बैंकको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत पुगेको छ। त्यस्तै, कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ।

हिमालयन बैंकको खराब कर्जा ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ भने प्राइम कमर्सियल बैंकको खराब कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ। त्यस्तैगरी, लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ। एनएमबी बैंकको खराब कर्जा ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेकाे छ । साथै, कृषि विकास बैंकको खराब कर्जा ४.७८ प्रतिशतबाट बढेर ४.७९ प्रतिशतर राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८३ प्रतिशतबाट बढेर ३.८९ प्रतिशत पुगेको छ। साे अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ। नेपाल एसबीआई बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।
सानिमा बैंकको खराब कर्जा गत वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ। नेपाल बैंकको खराब कर्जा ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत र नबिल बैंकको ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशत पुगेकाे छ । त्यस्तै, माछापुच्छ्रे बैंकको खराब कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत र भने सिद्धार्थ बैंकको खराब कर्जा ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ। सिटिजन्स बैंकको खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशत कायम भएको छ। एभरेष्ट बैंकको खराब कर्जा ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशतमा सीमित भएको छ।
बैंकहरूको खराब कर्जाको अवस्थामा एकरूप देखिएकाे छैन । केही बैंकको खराब कर्जा तुलनात्मक रूपमा उच्च देखिँदा केही बैंकले यसलाई न्यून स्तरमा राखेका छन् । यसले बैंकहरूको कर्जा व्यवस्थापन, ऋणीको ऋण तिर्न सक्ने क्षमता र कर्जा असुलीको अवस्थाबीच अन्तर रहेको संकेत गर्छ । खराब कर्जा बढ्दा बैंकको आम्दानी, नाफा र कर्जा प्रवाह गर्ने क्षमतामा दबाब पर्न सक्छ । खराब कर्जाका लागि बढी रकम कर्जा नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने भएकाले त्यसले बैंकको वित्तीय नतिजालाई समेत प्रभावित गर्न सक्छ ।
बैंकहरूको खराब कर्जा नियन्त्रणका लागि कर्जा लगानीको गुणस्तर, ऋणीको वित्तीय अवस्था र कर्जा असुलीमा प्रभावकारी निगरानी आवश्यक हुन्छ । विशेषगरी खराब कर्जा उच्च रहेका बैंकका लागि जोखिम व्यवस्थापन र असुली प्रक्रियामा थप सक्रियता आवश्यक देखिन्छ ।
प्रकाशित मिति : November 1, 2026 at 4:47 pm










