रौतहटका ३ आयोजनाको ठेक्का तोडियो
१५ कात्तिक, काठमाडौं । रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । निर्माणमा पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन् । सडक डिभिजन चन्द्रनिगाहपुर–गौर सडक खण्डको लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का तोकिएको मन्त्री लम्सालले सामाजिक संजालबाट जानकारी दिएका हुन् ।

चन्द्रनिगाहपुर–गौर सडक अन्तर्गतको लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो । यी दुवै पुल निर्माणका लागि २०७३ साल चैत २१ गते रौतहटको गरुडास्थित पप्पु र शिवशंकर जेभीसँग सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७५/७६ भित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने भए तापनि पटक–पटक म्याद थप गरेर अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्याइएको थियो । तर, निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन ।
तोकिएको समयसीमाभित्र पनि काम सम्पन्न नभएपछि स्थानीयहरूले लामो समयदेखि आवागमनमा भारी सास्ती भोग्दै आएका थिए । यसैगरी, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनस्र्थापनाका लागि ठेक्का सम्झौता भए पनि गत आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने कार्यको भौतिक प्रगति शून्य देखिएपछि उक्त खण्डको पनि ठेक्का तोड्ने निर्णय गरिएको हो । पटक–पटक म्याद थप्दा समेत निर्माण कार्य अलपत्र पार्ने र जनतालाई सास्ती दिने प्रवृत्तिका कारण यी ठेक्काहरू तोड्नुपरेको सम्बन्धित निकायले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : November 1, 2026 at 5:57 pm








