राष्ट्रियसभा सदस्य रामप्रित पासवान उनकै गाउँमा कुटिए
३० कात्तिक, सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आक्रमण गरेको उनले बताए । पासवानको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।
पासवानमाथिको हमलाको नेपाल दलित सेवा समाजले विरोध जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
उनी सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १९:४१