अब विदेशमा उपचार गराउने नेपालीले ३० हजार डलरसम्म विदेशी मुद्रा साट्न पाउने
२० असोज, काठमाडौं । राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो ।
संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू सीमा बढाइएको छ । संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकलाई तोकिएको प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यो सुविधा १५ हजार डलरसम्मको थियो ।

नेपाली नागरिकले विदेशस्थित अस्पतालमा उपचार गराउने तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि तोकिएका कागजात र प्रक्रिया पूरा गरेपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक डलर सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ ।
साथै, अब दूरसञ्चारसम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तोकिएको कागजात लिई भाडाबापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले गर्न सक्नेछन् । यसअघि १ लाख डलरसम्मको सीमा थियो ।
त्यस्तै अब नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा आवश्यक कागजातहरू लिई प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरूबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ ।
प्रकाशित मिति : October 6, 2026 at 4:09 pm






