भिजा लिडरसिप कन्क्लेभमा एनएमबि बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड
८ मंसिर, काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको प्रयोग तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तारमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो।
बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ (Excellence in Product Innovation) र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ (Excellence in Consumer Debit Cards Business – Principal Client) अवार्ड प्राप्त गरेको जनाएको छ।
बैंकका अनुसार यी अवार्डले डिजिटल भुक्तानी प्रणालीको विकास, नवीन वित्तीय उत्पादनको विस्तार तथा ग्राहकको कारोबार अनुभवलाई सहज बनाउने दिशामा बैंकले गरेका प्रयासलाई मान्यता प्रदान गरेका छन्। एनएमबि बैंकले आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा छिटो, सुरक्षित र सहज वित्तीय कारोबारको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

विशेषगरी डेबिट कार्ड सेवा र डिजिटल बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउँदै ग्राहकको दैनिक वित्तीय कारोबार सरल बनाउने रणनीतिलाई बैंकले प्राथमिकतामा राखेको छ। प्राप्त सम्मानले बैंकलाई आगामी दिनमा डिजिटल बैंकिङ सेवा थप विस्तार गर्न र नवीनतम वित्तीय प्रविधि प्रयोगमा ल्याउन प्रोत्साहन मिलेको बैंकको भनाइ छ।
नेपालको बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरणलाई गति दिने र ग्राहकको बदलिँदो आवश्यकताअनुसार सेवा परिष्कृत गर्दै लैजाने प्रतिबद्धता बैंकले दोहोर्याएको छ। हाल एनएमबि बैंकले देशभर १९६ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति : November 24, 2026 at 3:53 pm













