सीटीईभीटीको नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा मगरविरुद्ध भ्रष्टाचार मुद्दा
८ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा भोज बाबु सोमै मगरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
प्युठानको साविक ढुंगेगढी गाविस–४ (हाल सरूमारानी गाउँपालिका–४) घर भएका मगरविरुद्ध झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी भक्तपुरबाट जारी भएको देखिने ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ तहको नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको छ।

सोही नक्कली प्रमाणपत्रका आधारमा उनले सुरुमा ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयमा सहायक प्रशिक्षक (प्राविधिक शिक्षक) का रूपमा करिब २ वर्ष करार सेवामा काम गरेका थिए। त्यहाँबाट जागिर छाडेपछि उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर (करार) पदमा नियुक्त भई सरकारी सेवा र सुविधा लिएको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद र लाभ लिनु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाबमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।
प्रकाशित मिति : November 24, 2026 at 3:09 pm













