२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

मरेको कुखुराको मासु खाँदा कैलालीमा २ बालकको मृत्यु, आमा–छोरा बिरामी

५ वैशाख, काठमाडाैँ । कैलालीमा मरेको कुखुराको मासु सेवन गर्दा एकै परिवारका २ बालकको ज्यान गएको छ भने अन्य २ जना गम्भीर बिरामी परेका छन्।

चुरे गाउँपालिका–३, भक्तपुरका राधिका ताम्राकारका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार मरेको कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएका दुवै बालकको शनिबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयाे।

घटनामा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार पनि गम्भीर बिरामी छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार ताम्राकार परिवारले स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट ल्याएको मरेको कुखुराको मासु सेवन गरेका थिए। उक्त फार्म मङ्गल साउदले सञ्चालन गर्दै आएका हुन्।

घटना सार्वजनिक भएपछि साउद स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : April 18, 2026 at 1:53 pm