खामेनी मारिएको ट्रम्पको दाबी, इरानले भन्यो– सर्वोच्च नेता सुरक्षित छन्
१७ फागुन, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको गरेका छन। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरेको पोस्टमार्फत ट्रम्पले खामेनीलाई इतिहासका क्रूर व्यक्तिमध्ये एक भएको उल्लेख गर्दै मृत्यु इरानी जनता तथा खामेनीका कारण ज्यान गुमाएका अन्य देशका नागरिकका लागि न्याय भएको टिप्पणी गरेका छन।
यसैबीच, इजरायलले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणको निगरानी अमेरिकी राष्ट्रपति ‘वार रुम’ मा बसेर गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
इजरायलले इरानमाथि गरिएको सैन्य कारबाहीलाई ‘लायन रोर’ कोडनेम दिएको छ भने अमेरिकाले यसलाई ‘अपरेशन एपिक फ्युरी’ नाम दिएको बताइएको छ। जवाफमा इरानी सेनाले आफ्नो प्रतिकारात्मक अभियानलाई ‘खतम–ए–तूफान’ नाम दिएको जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले इजरायली अधिकारीहरूको हवाला दिँदै एयरस्ट्राइकपछि भग्नावशेषमुनि खामेनीको शव फेला परेको दाबी गरेको छ । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खामेनी मारिएको संकेत देखिएको बताएका थिए, तर त्यसबारे कुनै ठोस प्रमाण सार्वजनिक गरिएको थिएन।

तर इरानले भने उक्त दाबी अस्वीकार गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार सर्वोच्च नेता खामेनी जीवित छन् र सुरक्षित स्थानमा राखिएका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलका आक्रमणमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।
८६ वर्षीय खामेनी इरानका कमाण्डर–इन–चीफ समेत हुन् । देशका राजनीतिक तथा धार्मिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार उनीसँग रहन्छ। इस्लामिक गणतन्त्रको सुरक्षा गर्ने अर्धसैनिक बल ‘रिभोल्युसनरी गार्ड’ प्रत्यक्ष रूपमा उनैप्रति जवाफदेही रहने व्यवस्था छ ।
सन् १९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको निधनपछि खामेनी सर्वोच्च नेता बनेका थिए। उनले १९७९ को क्रान्तिमा शाह मोहम्मद रजा पहलवीलाई सत्ताबाट हटाउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
शनिबार भएका आक्रमणमध्ये एक आक्रमण खामेनीको कार्यालय नजिकै भएको बताइए पनि त्यसबेला उनी कहाँ थिए भन्ने स्पष्ट हुन सकेको छैन। पछिल्ला केही दिनदेखि उनी सार्वजनिक रूपमा पनि देखिएका छैनन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार ०७:१०










