बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, ९ जनाको सनाखत
११ फागुन, काठमाडाैं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरुमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन्। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ। अन्य मृतकको पहिचान खुलिसकेको छैन।
प्रकाशित मिति : February 23, 2026 at 12:22 pm









