वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु
११ फागुन, काठमाडाैं। जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यु लगाइएको बताउनुभयाे ।
कर्फ्यू क्षेत्रमा आवत-जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।
तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ । साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ११:१६










