७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

राससलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगिनेछ: अध्यक्ष झा

७ फागुन, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै राससलाई समयानुकूल बनाउन र सूचना प्रविधिसँगै तीव्ररुपमा थपिएका नयाँनयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रुपमा स्थापित गराउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

राससको ६५औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै कार्यकारी अध्यक्ष झाले समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा समय सीमा (डेडलाइन)को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभएको छ ।

राससको समाचार सेवाको यात्रा केबल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक एवं विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रुपान्तरणको माध्यम हुनु पनि हो भन्नुहुँदै उहाँँले राससलाई युगानुकूल, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउँदै अघि बढनुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व भएको बताउनुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ०६:०८