१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

१ फागुन, म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ ।

सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो । जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन् । लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो क्षेत्रका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ । रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले योजना निर्माणको काम सुरु गरेको छ ।

पानी परेको अवस्थामा पनि शव जलाउन मिल्ने सत्तल, घाटमा पुग्ने पदमार्ग, कपडा फेर्ने ठाउँ, मलामी बस्ने आश्रयस्थल, शौचालय, पानी, विद्युत्को व्यवस्था मिलाउन पूर्वाधार तयार पारिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “धेरै मानिसको जमघट हुने घाटमा पूर्वाधार अभावमा नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि गरेको प्रस्ताव स्वीकृत भएपछि आयोजना कार्यान्वयन थालिएको हो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित योजना निर्माण अघि बढेको छ ।”

शवदाहस्थल नजिकै हिन्दू मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलको बिरुवा पनि रोपिनुका साथै संरक्षण समिति बनाएर समुदायलाई हस्तान्तरण गरिने भएको छ । व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, मलामीहरूले गर्मीमा चर्को घामको सामना र झरीमा रुझ्नुपर्ने समस्या रहेको छ । जलजला गाउँपालिका–६ शालिजामा भने यसअघि नै दुईवटा घाट निर्माण भएर प्रयोगमा छन् । योजनामार्फत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारको घाट बनाउन लागिएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ०९:०७