२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

काठमाडौँको मूलपानीमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

२८ माघ, काठमाडौँ । काठमाडौँको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा ट्याङ्करले ठक्कर दिँदा ४६ वर्षीया रोशना दुवाल गम्भीर घाइते हुनुभएको र उनको उपचारका क्रममा आज मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मूलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा३ख ३९५४ नम्बरको ट्याङ्करले ठक्कर दिँदा रोशना घाइते भएकी र उपचारको क्रममा निजको मृत्यु भएको हो । दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडि सवार थिइन् । करिब २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मूलपानीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाविर तामाङलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताउनुभयो

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १५:४५