२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

नुवाकोट जाँदै गरेको बसलाई काठमाडौं आउँदै गरेको बसले ठक्कर दिँदा एक जनाको निधन

२५ माघ, काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको थाक्रे गाउँपालिका–६ स्थित दसकिला भन्ने स्थानमाआज बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोक्किएपछि सडक छेउमा रहेको चिया पसलतर्फ बस जाँदा त्यहाँ चिया खाइरहेका एक ट्रिफर चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम ठेगाना हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चिया पसलका घरधनी अन्दाजी ५०/५१ वर्षका राजु थापा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी महादेवबेसीबाट प्रहरी नायब निरीक्षक विष्णु नेपालीको कमान्डमा १/५ जनाको टोली र इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले घटनास्थल नियन्त्रणमा लिएको थियो। दुर्घटनापछि अवरुद्ध बनेको एकतर्फी राजमार्ग बिहान ८:०० बजेबाट सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

दुवै बसका चालकहरू प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आईतवार ०९:५२