रौतहटमा बालिकाको मृत्यु घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छः रास्वपा
२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि घटनालाई रास्वपाले गम्भीरताका साथ लिएको बताएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई पार्टीले गम्भीर रूपमा लिएको बताउनुभएकाे हाे । ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं । पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टी पङ्क्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गरेको छ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १२:२६








