नागिरक दैनिकमा पत्रकार महासंघको ताला र कालो व्यानर
१४ माघ, काठमाडाैँ । नागरिक दैनिकमा नेपाल पत्रकार महासंघले तालाबन्दी गरेर कालो व्यानर प्रदर्शन गरेको छ । बुधबार बिहान महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अाचार्य नेतृत्वको टोलीले नागरिक दैनिकमा तालाबन्दी गरेको हो ।
श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि वेवास्ता भएपछि महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्ष (प्रबन्ध निर्देशक तथा सिईओ को कार्यकक्ष) मा तालाबन्दी गरेको छ।


महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले व्यवस्थापन पक्षले पटक पटक गरेको सम्झाैता र सहमति उल्लंघन गरेर उल्टै श्रमजिवीको विरूद्धमा मुद्दा दर्ता गरेको जानकारी दिनुभएको छ । अधिकारीले फेसबुक मार्फत भन्नुभएको छ, ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड (नागरिक दैनिक) ब्यवस्थापन पक्षले त्यहाँ देखिएको श्रम समस्या (नियमित पारिश्रमिक, सरकारले तोकेको न्यूनतम पारिश्रमिक, कानुन अनुसारका सेवा सुविधा, स्टीन्जरका समस्या, श्रम अदालतले पूर्नवाहाली गरेकाहरुको सेवा सुविधा, छोडेर जान चाहनेहरुले पाउनुपर्ने कानुन अनुसारका सेवा सुविधा, सामाजिक सुरक्षा कोषमा पत्रकारहरुको आवद्दता लगायत)का सवालमा पटक- पटक वार्ताका क्रममा सहमति गरेपनि त्यसको कार्यान्वयन नगरेपछि अन्ततः बाध्य भएर नेपाल पत्रकार महासंघ माघ ४ यता चरणबद्द आन्दोलनमा छ । वार्ता र संवादका लागि महासंघले आफनो तर्फबाट ढोका सधै खुल्ला राखेपनि त्यहाँको ब्यवस्थापन पक्षले नेपाल पत्रकार महासंघविरुद्द नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेर उल्टो थप कडा संर्घषमा उत्रन महासंघलाई खुल्ला आह्रवान गरेको छ । सोही क्रममा आज ब्यवस्थापन, सिइओको कार्यकक्षमा महासंघले तालाबन्दी गरेको छ । महासंघ रिपब्लिक मिडिया लिमिटेडसँग वार्ता संवाद, आन्दोलन र कानुनी तीन वटै मोर्चामा सँगसँगै भिड्न तयार छ ।’
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ११:२८







