१३ माघ २०८२, मंगलवार | Tue Jan 27 2026

कालिज पालेर मासिक १ लाखभन्दा बढी आम्दानी गर्दै सापकोटा

१३ माघ, चितवन । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले कालीजपालन सुरु गर्नुभएको थियो । रु १३ लाख लागतमा उहाँले सो व्यवसाथ सुरु गर्नुभएको थियो ।

सुरुमा प्रतिगोटा रु दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गर्नुभएका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्नुहुन्छ । एउटा चल्ला रु २०० मा बिक्री हुने गरेको छभने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।

चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिनुहुन्छ भने दिउँसो अन्य काममा लाग्नुहुन्छ । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

सापकोटाले भन्नुभयो, “साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।”

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १३:५८