१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपालसहित ७५ देशका नागरिकलाई अमेरिकी आप्रवासी भिसा अनिश्चितकालका लागि बन्द

३० पुस, काठमाडाैँ । अमेरिकी विदेश मन्त्रालयले “सार्वजनिक बोझ” (Public Charge) बन्न सक्ने आशंकामा ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । उक्त निर्णय जनवरी २१ देखि लागू हुने र नयाँ मूल्यांकन सम्पन्न नहुँदासम्म अनिश्चितकालसम्म जारी रहने जनाइएको छ।

फक्स न्युज डिजिटलले विदेश मन्त्रालयको आन्तरिक मेमो प्राप्त गरेको जनाउँदै कन्सुलर अधिकारीहरूलाई हाल विद्यमान कानुन प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिइएको उल्लेख गरेको छ । यस अवधिमा आप्रवासी भिसा प्रक्रिया पुनरावलोकन तथा कडाइका साथ स्क्रिनिङ र भेरिफिकेसन गरिने बताइएको छ।

यस सूचीमा सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनसहित नेपाल पनि परेको छ ।

‘पब्लिक चार्ज’ मापदण्ड कडाइ

सन् २०२५ नोभेम्बरमा विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावास तथा कन्सुलेटहरूलाई पठाएको निर्देशनमा ‘पब्लिक चार्ज’ प्रावधान कडाइका साथ लागू गर्न भनिएको थियो । यसअन्तर्गत आवेदकको स्वास्थ्य अवस्था, उमेर, अंग्रेजी भाषा ज्ञान, आर्थिक स्थिति, विगतमा सरकारी सहायता लिएको इतिहास तथा दीर्घकालीन उपचारको सम्भावना जस्ता पक्षहरू मूल्यांकन गरिनेछ।

निर्देशनअनुसार उमेर बढी भएका, अत्यधिक तौल भएका, वा पहिले कुनै सरकारी नगद सहायता लिएका व्यक्तिहरूको भिसा अस्वीकार हुन सक्ने व्यवस्था गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले भने, “संयुक्त राज्य अमेरिकाको उदार सामाजिक सुरक्षाको दुरुपयोग गर्ने सम्भावना भएका आप्रवासीलाई अयोग्य ठहर गर्न विदेश मन्त्रालयले आफ्नो दीर्घकालीन कानुनी अधिकार प्रयोग गर्नेछ।” उनका अनुसार ७५ देशबाट हुने आप्रवासन प्रक्रिया पुनरावलोकन नभएसम्म रोकिएको हो।

सूचीमा नेपालसहित ७५ देश

देशहरूको पूर्ण सूचीमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोटे डी’आइवर, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कंगो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणतन्त्र, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन समावेश छन्।

प्रकाशित मिति : January 14, 2026 at 11:26 pm