२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

तीन करोडको लागतमा आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै

२० पुस, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।

नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आँधीखोला र अर्मादीखोलाको दोभानमा पुल निर्माण हुने भएपछि वालिङ बजारबाट दैनिक वालिङ सरसफाइ केन्द्रमा आवतजावत सजह हुनेछ ।

“पुल सम्पन्न भएसँगै नगरको बजार क्षेत्रबाट दैनिक सङ्कलन हुने कुहिने, नकुहिने, सिसाजन्य तथा दिशाजन्य फोहोर सरसफाइ केन्द्रमा लैजान सहज हुनेछ”, उहाँले भन्नुभयो, “साथै सिद्धार्थ राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसले सर्वसाधारणलाई आवागमनमा सहज बनाउनुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरेका छौँ ।”

पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग विसं २०८३ जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी रु तीन करोड ३७ लाखको लागतमा ठेक्का सम्झौता भएको इञ्जिनियर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा स्पानमा निर्माण हुने उक्त पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव ४० मिटर हुनेछ । अहिले पुलको फाउण्डेसन निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

हिउँदमा खोलाबाटै गाडी वारपार गरे पनि वर्षायाममा समस्या हुने तथा दैनिक ढुवानीका साथै फोहरमैलाका गाडी अन्यत्रबाट घुमाएर लानुपर्ने बाध्यता थियो । वर्षायाममा खेतीकिसानी गर्ने किसानले ट्रयाक्टर लैजान तथा अन्य साधन लिएर जान आउन पनि समस्या हुँदै आएको थियो ।

वालिङ बजारबाट सरसफाइ केन्द्रसम्म आवतजावतका लागि अर्मादी र मिर्दीखोला छन् । यस वर्ष अर्मादी खोलामा पक्की पुल बने पनि मिर्दी खोलाबाटै सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

वर्षाका समयमा पनि आँधीखोला करिडोरमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्ने उद्देश्यले यहाँ पुल निर्माण थालिएको बताउँदै इञ्जिनियर रेग्मीले आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्न ठेक्का लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

आँधीखोलाको किनारैकिनार भएर गएको आँधीखोला करिडोरमा पुल निर्माण भएपछि आँधीखोलाको किनार, अर्मादीखोला र मिर्दीखोलाको किनारमा फैलिएका खेतीयोग्य भूमिमा उब्जाउ भएका कृषिजन्य वस्तु तथा नदीजन्य सामग्री करिडोर हुँदै ढुवानी गर्न सकिनेछ । करिडोर पूर्णमा रूपमा सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग तथा वालिङ बजारभित्रका सडकमा सवारी चाप कम हुने देखिन्छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १३:५६