१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

पत्रकार महासंघको भ्रष्टाचारमा छलफल गर्न एसोसिएट संस्थाहरूको राष्ट्रिय सम्मेलन 

१८ पुस, काठमाडौँ । नेपाल पत्रकार महासंघमा भएको भ्रष्टाचारका बारेमा छलफल गरेर कारबाही लागि दबाब दिन एसोसिएट संस्थाहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । महासंघका साधारण सदस्यले ‘पत्रकार कल्याणकारी कोष’को नाममा प्रतिसदस्य पाँच सय रूपैयाँका दरले हरेक वर्ष जम्मा गरेको करोडौँ रूपैयाँ दुरूपयोग भएको आवाज उठिरहेका कारण उक्त विषयमा छलफल गरेर अनुसन्धान र कारबाहीमा दबाब दिन सम्मेलन आयोजना गरिएको एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्यले जानकारी दिनुभयो ।

एसोसियट संस्थाका अध्यक्ष र महासचिवको अनिवार्य उपस्थिति सहित सबै संस्थाको पदाधिकारीहरूलाई सम्मेलनमा निम्तो दिइएको बताइएको छ । सम्मेलनमा महासंघको केन्द्रीय कमिटीका अध्यक्ष, महासचिव, कोषाध्यक्ष, एसोसियट प्रदेशबाट निर्वाचित हुनुभएको सचिव र दुई केन्द्रीय सदस्यलाई अतिथिको रूपमा निमन्त्रणा गरिएको छ । त्यस्तै प्रदेश समितिका पूर्व पदाधिकारी, वर्तमान समितिका सबै सम्मेलनको सहभागी हुने बताइएको छ ।

सम्मेलनको निमन्त्रणामा नै ‘पत्रकार कल्याणकारी कोष’को नाममा प्रतिसदस्य पाँच सय रूपैयाँका दरले संकलन गरिएको रकम दुरूपयोग भएको विषयमा गम्भीर छलफल गर्नुपर्ने भएकाले सहभगी हुन अनुरोध गरिएको छ । अध्यक्ष आचार्यले महासंघको विधान संशोधन गरेर कोष सम्बन्धित शाखा वा संस्थामै राख्नका लागि यो सम्मेलनले महात्वपूर्ण पहल लिइने पनि बताउनुभएको छ ।

झण्डै एक दशकदेखि महासंघको नेतृत्वमा रहेका विभिन्न व्यक्तिको मिलेमतोमा ‘पत्रकार कल्याणकारी कोष’को रकम कोषमा जम्मा नगरी दुरूपयोग गरेको विषय केही महिनादेखि चर्चामा छ । नेपाल पत्रकार विकास समाजका तर्फबाट अध्यक्ष माधवप्रसाद तिवारीले सामाजिक सञ्जाल मार्फत यसअघि नै पटक पटक यस विषयमा आवाज उठाउँदै आउनुभएको थियो । अन्य शाखा र संस्थाका सदस्यहरूले पनि ‘पत्रकार कल्याणकारी कोष’को रकम दुरूपयोगमा अनुसन्धान गरी दोषी माथि कारबाही गर्नुपर्ने अवाज निरन्तर उठिरहेको छ । सम्मेलन माघ ३ गते शनिबार रिभाइभ नेचर पार्क रिसोर्ट महालक्ष्मी नगरपालिका ललितपुरमा हुनेछ ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार ११:०३