केपी ओलीले प्रयोग गर्ने उखान–टुक्का दार्शनिक अभिव्यक्ति रहेको निष्कर्ष
१५ पुस, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीका अभिव्यक्तिहरू केवल उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष एक विद्यावारिधिस्तरीय शोधले निकालेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्व प्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको हो । अध्यक्ष ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनहरुमा व्यञ्जना अर्थ रहेको शोधको निष्कर्ष रहेको छ ।
शोधमा ओलीद्वारा प्रतिपादित ‘समृद्ध नेपाल, सुखी नेपाली’ अब राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य मात्र नरहेको र यो समयानुकूल विकसित हुँदै सिद्धान्त र दर्शनकोरुपमा विकसित भएकोे ठहर गरिएको छ । उक्त आकाङ्क्षा अब आत्मसम्मान, र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड रहेको खड्काले जानकारी दिनुभयो । नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोधकर्ता खड्का हुनुभएको छ । डा खड्काले उक्त शोधको आज प्रतिरक्षा (डिफेन्स) गर्नुभएको छ । शोधका लागि डा ऋषिराम शर्मा निर्देशक तथा प्रा डा भागवत ढकाल र प्रा केशव सुवेदी विशेषज्ञ रहनुभएको थियो ।

शोधमा विश्व चर्चित नेताहरू जस्तै बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदीलगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ । तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ ।
यो अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ । खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली राजनीतिक नेताहरुका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र रूपकात्मक संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले राष्ट्रिय बौद्धिक जगतलाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १९:०५












