नेपालकै तेस्रो पुरानो पासाङल्हामु राजमार्ग १२ वर्षदेखि अलपत्र
२ मंसिर, नुवाकोट । नेपालकै तेस्रो पुरानो राजमार्ग पासाङल्हामु राजमार्ग १२ वर्षदेखि अलपत्र छ । पछिल्लो समय बालाजु रानीपौवा खण्डमा केही काम भए पनि रानीपौवा पिपलटार खण्डको अवस्था दयनीय छ । सडक विस्तारका नाममा भएको कालोपत्र समेत भत्काएर अलपत्र छाँडिदाँ राजमार्ग आसपासको जनजीवन अर्को २० वर्ष पछि धकेलिएको भनेर टिप्पणी हुन थालेको छ ।
यसै सन्दर्भमा पछिल्लो समय नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसीले सडक निर्माणका लागि निरन्तर दबाब बढाइरहनुभएको छ । नुवाकोट २ बाट गत प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको अर्जुननरसिंह केसीले संसदमै बजेट च्यात्ने चेतावनी दिएपछि अर्थमन्त्री विष्णु पौडेलले चोरबाटो प्रयोग गरेर चार किलोमिटर सडक निर्माणका लागि बजेट विनियोजन गरिदिनुभएको थियो । सो अनुसार डिभिजन सडक कार्यालय नुवाकोटले पिपलटारतर्फबाट २ किलोमिटर र रानीपौवा तर्फबाट २ किलोमिटर सडक निर्माणका जानका लागि बोलपत्र सार्वजनिक गरेको छ ।

बोलपत्र सार्वजनिक भएपछि मंगलबार नुवाकोट कांग्रेसका पूर्व सभापति समेत रहनुभएको जगदिश्वरनरसिंह केसीले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको पुनः ध्यानाकर्षण गराउनुभएको छ । केसीको ध्यानाकर्षण पछि मन्त्री घिसिङले आवश्यक बजेटका लागि आश्वास दिनुभएको बुझिएको छ । भेटपछि दैनिकीसँग कुरा गर्दै केसीले मन्त्रीले ७६ करोड बजेट सुनिश्चित गरेर बहुवर्षिय टेन्टर खोल्ने जानकारी दिनुभएको उल्लेख गर्नुभयो ।
केसीले दैनिकीसँग भन्नुभयो, ‘मन्त्रीज्यूसँग भेट भयो । रानीपौवा पिपलटार सडकखण्डमा ७६ करोड बजेट विनियोजन गरि बहुबर्षीय योजनामा समावेश गरि स्रोत सुनिस्चितता गर्ने र तिनपिप्ले चाउथे कुमरी कोल्पुटार वैकल्पिक सडक उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।’
पासाङल्हामु राजमागर्गको बालाजु रानीपौवा सडकखण्डको काम भने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर टेण्डर समेत भएर काम भैरहेको छ । यद्यपीको कामको गति आशाजनक रहेको छैन ।
यसअघि नेकपा एमाले नेकपा माओवादी केन्द्रका नेताहरूले पासाङल्हामु राजमार्गको सडक समयमै निर्माण गर्न विभिन्न समय र माध्यबाट दबाब दिँदै आएका छन ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार २०:२१












