१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

होटल हायात रिजेन्सीले सबै कर्मचारी बर्खास्त गर्ने

२६ कात्तिक, काठमाडौं । हयात रिजेन्सी होटलले कर्मचारीलाई बिदा दिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीपछि बन्द रहेको हयात रिजेन्सीले होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको हाे ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पठाएको पत्रमा होटल सञ्चालन असम्भव भएको उल्लेख छ । आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी सबै १३३ कर्मचारीहरुलाई बिदा दिने निर्णय गरिएको पत्रमा उल्लेख छ ।

आन्दोलनका क्रममा आपराधिक समूहले होटलभित्र प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका कारण होटल पूर्णरूपमा क्षतिग्रस्त भएको छ । आगलागीका कारण एक विदेशी पाहुनाको ज्यान गएको र अन्य अतिथिहरूको सामान समेत लुटिएको घटनाले अन्तर्राष्ट्रिय स्तरमा होटलको छविमा नकारात्मक असर परेको बताइएको छ ।

कोभिड–१९ महामारीले पहिले नै ठूलो आर्थिक संकट बेहोरेको होटलले पुन: घटनाका कारण करोडौंको क्षति भोग्नुपरेको र मर्मत अवधिभर कुनै आम्दानी नहुने भएकाले सम्पूर्ण कर्मचारी कटौती गर्न बाध्य भएको व्यवस्थापनले जनाएकाे छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १२:१३