१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

आगजनी र लुटपाट गर्नेहरू विरुद्ध प्रहरीले जाहेरी लिन मानेनः महासंघ

१० कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा संलग्न व्यक्तिविरुद्ध प्रहरीले जाहेरी लिन नमानेको भन्दै आपत्ति जनाएको छ।

उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीका घटनाका दोषीमाथि छानबिन र कारबाही गरी सुरक्षा सुनिश्चित गर्नु पर्नेमा प्रहरीले जाहेरी नै दर्ता नगरेको महासंघको भनाइ छ ।

सोमबार जारी विज्ञप्तिमा महासंघले उल्लेख गरेको छ, ‘घटनामा संलग्न दोषीहरूमाथि कारबाहीमा उदासीनता देखिएको जानकारी सदस्य व्यवसायीहरूबाट प्राप्त भइरहेको छ । यस्तो अवस्था निरन्तर रह्यो भने दण्डहीनता बढेर लगानीको वातावरणमा गम्भीर चुनौती उत्पन्न हुनेछ।’

निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि महासंघले केन्द्र र जिल्ला स्तरीय सुरक्षा समितिहरूमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिलाई सहभागिता गराउन उसले आग्रह गरेको छ । यसबारे गृह मन्त्रालयमा पत्राचार गरिसकेको महासंघले जनाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति सुरक्षाबिना उद्यम व्यवसाय चल्न नसक्ने बताउँदै दण्डहीनता अन्त्य गरेर व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १७:५३