२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

भ्रष्टाचारीमाथि कारबाही नभए फेरि आन्दोलन गर्ने घाइतेहरूको चेतावनी

४ कात्तिक, काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग करिब चार घण्टा बढी छलफल गरेकी छन्।घाइते प्रतिनिधि समूहमा रुपिन खड्काको नेतृत्वमा १८ जना थिए। उनीहरूले सरकारलाई भ्रष्टाचार र दमनविरुद्ध कडा रूपमा प्रतिबद्ध हुन र आरोपितहरूलाई कारबाही गर्न माग गरेका छन् । समूहले भ्रष्टाचारमा संलग्न व्यक्तिहरू भाग्ने र सम्पत्ति लुकाउने प्रयास गरिरहेको चेतावनी पनि दिएको छ ।

खड्काले भने, ‘हामीले जसविरुद्ध आन्दोलन गरेका थियौँ, ती व्यक्तिहरू किन पक्राउ परेका छैनन्? नियमले हो कि कानुनले हो ? जहाँ अवरोध छ, त्यहीँबाट हटाउनु आवश्यक छ ।

प्रधानमन्त्री कार्कीले घाइतेहरूलाई सम्बोधन गर्दै भनिन्, ‘हामी आन्दोलनको मर्म विपरीत काम गर्दैनौँ। प्रक्रिया अनुसार कानुनी सीमाभित्रै रही काम हुनेछ । चुनाव र छानबिन दुवै अगाडि बढ्नेछन् । राज्यका निकायहरू तीव्र गतिमा छानबिन गरिरहेका छन्। तपाईँहरूले दबाब दिनुहोस् । नतिजा आउनेछ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार १६:००