२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

जेन‍-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना

३१ असोज, काठमाडौं। नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन‍जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।

सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताउनुभएकाे हाे ।

आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ। ४८४ स्थानमा आन्दोलन भएको पनि उहाँले बताउनुभयाे । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ । सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १६:०८