२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

भर्ने होइन त ? विकास हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१८ असार, काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेसँगै सर्वसाधारणमा आईपीओ बिक्री गरेकाे हाे ।

कम्पनीले प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।

आईपीओमा आम सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०९:०२