भिजन लुम्बिनीले सर्वसाधारमा सेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
२० कात्तिक, काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
यसै सिलसिलामा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण शेयर, प्रति कित्ता रु. १०० अंकित मूल्यका दरले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ।

भिजन लुम्बिनी नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खनन लगायतका उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसरको पहिचान, अध्ययन, विश्लेषण र प्रवर्द्धन गर्दै आएको छ। स्वदेशी पूँजी र स्रोत साधनको प्रभावकारी परिचालन मार्फत लगानीका नयाँ सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनु कम्पनीको लक्ष्य हो।
यही उद्देश्य अनुरूप कम्पनीले दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ। भविष्यमा पनि नयाँ र सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गरी राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने लक्ष्य राखेको छ।
प्रकाशित मिति : November 6, 2026 at 5:54 pm










