पत्रकार महासंघले समाचार कक्षमै प्रहरी धरपकड र अध्यादेशको विरोधमा छठपछि देशव्यापी आन्दोलन गर्ने
२० कात्तिक, काठमाडौँ। नेपाल पत्रकार महासंघले समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड तथा सरोकारवालासँग छलफल नै नगरी ल्याउन लागिएको प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशको कडा विरोध गरेको छ।
महासंघ केन्द्रीय समितिको मंगलबार केन्द्रीय कार्यालयमा अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको उपलब्ध बैठकले प्रेस स्वतन्त्रता र श्रम अधिकारको रक्षाका लागि छठ पर्वपछि चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको हो। बैठकपछि महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा सञ्चार गृहभित्रै छिरेर प्रहरीले पत्रकारमाथि गरेको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको सीधा प्रहार भएको उल्लेख छ।
महासंघले उक्त घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषी अधिकारीहरूमाथि तत्काल कारबाही गर्न माग गरेको छ।
यस्तै, सरकारले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षहरूसँग कुनै परामर्श नगरी एकपक्षीय रूपमा ल्याउन लागेको भन्दै महासंघले आपत्ति जनाएको छ। महासंघले उक्त अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग र जारी नगर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक आग्रह गर्ने निर्णय गरेको छ।

सरकारी सञ्चारमाध्यम गोरखापत्रलगायत विभिन्न निजी सञ्चारगृहहरूमा पत्रकारहरूमाथि गम्भीर श्रम अधिकारको उल्लङ्घन भइरहेको महासंघको निष्कर्ष महासंघले निकालेको छ। पत्रकारहरूलाई जबरजस्ती निष्कासन गर्ने, लामो समयसम्म पारिश्रमिक नदिने र चाडबाड खर्चसमेत कटौती गर्ने कार्य भइरहेको भन्दै महासंघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्तै, पत्रपत्रिकाहरूले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको विषयमा ध्यानाकर्षण गराउँदै महासंघले प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नै विज्ञापन रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
महासंघले आफ्ना मागहरू पूरा गराउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निम्न कदम चाल्ने निर्णय गरेको छः
-शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाई संयुक्त आन्दोलन अगाडि बढाउने।
-अध्यादेश र मिडिया क्षेत्रका समस्याबारे संसद्भित्रै आवाज उठाउन सांसदहरूसँग निरन्तर संवाद र बहस गर्ने।
-नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय अधिकारवादी सङ्घ/संस्थाहरूलाई जानकारी गराउने।
-महासंघका सम्पूर्ण माग र एजेन्डा पूरा गराउन छठ पर्वलगत्तै देशव्यापी चरणबद्ध आन्दोलन सुरु गर्ने।
प्रकाशित मिति : November 6, 2026 at 5:14 pm










