२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

साइबर ठगी रोक्न प्रहरीको नयाँ संयन्त्र, २४ घण्टा उजुरी दिन सकिने

२० कात्तिक, काठमाडौं । साइबर स्क्याम तथा वित्तीय ठगी नियन्त्रणका लागि नेपालमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (आईएसीएससी) सञ्चालनमा आएको छ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा बिहीबारदेखि केन्द्रले सेवा प्रारम्भ गरेको हो। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो।

साइबर ठगीका घटनामा तत्काल प्रतिकार्य गर्ने र सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्रबाट नियामक निकाय, प्रहरी, बैंक तथा वित्तीय संस्था, वालेट सेवा प्रदायक, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा काम गर्नेछन्।

विभिन्न निकायबीच समन्वय गरी साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा शीघ्र प्रतिकार्य गर्ने र डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउने केन्द्रको लक्ष्य छ।

केन्द्रले साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना २४ सै घण्टा प्राप्त गर्ने व्यवस्था मिलाएको छ। त्यसका लागि सम्बन्धित निकायका सम्पर्क अधिकृत तोक्नुका साथै आकस्मिक सम्पर्क नम्बर १२४७ समेत सञ्चालनमा ल्याइएको छ।

यस व्यवस्थाले साइबर ठगीमा परेका वा ठगीको जोखिममा रहेका व्यक्तिलाई समयमै सम्बन्धित निकायसम्म पुग्न सहज हुने र विभिन्न संस्थाबीच तत्काल सूचना आदानप्रदान तथा समन्वयमार्फत सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : November 6, 2026 at 6:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/