८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बामदेवको एमाले प्रवेशको साइतमा बाधक बन्यो वरियता

१० माघ, काठमाडौँ । पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेर घरमै रमाइरहनुभएको बामदेव गौतम बुधबार एमाले प्रवेश गर्ने चर्चाले मंगलबार राजनीतिक बजार निकै तातियो । त्यसरी राजनीतिक बजार तातिनुको स्रोत स्वयं गौतम नै हुनुहुन्थ्यो । उहाँले मंगलबार एमालेको सचिवालय बैठकबाट निर्णय गर्ने र आफू बुधबार नै एमाले प्रवेश गरेर एमालेको नेता भनेर राजनीतिक गतिबिधिमा सक्रिय हुनेबारेमा सञ्चार माध्यम मार्फत आफ्नो उत्कट चाहना सार्वजनिक गराइसक्नुभएको थियो । तर प्रधानमन्त्री निवास बालुवाटारमा आनौपचारिक छलफल भन्दै बसेको एमाले सचिवालय बैठकमा गौतमको एमाले प्रवेशपछिको अवस्था र वरियताको विषयमा चर्चा गर्दै तत्कालका लागि पार्टी प्रवेशको कार्यक्रम टारिएको छ । बैठकले गौतमलाई टाढिन नदिनका लागि सहकार्य गर्दै अघि बढ्ने निर्णय भने गरेको छ ।

बैठकमा सहभागी एमाले सचिवालयका एक सदस्यले दैनिकीसँग कुरा गर्दै भन्नुभयो ‘बामदेव जी एमालेमा आउन धेरै अघिदेखि नै चाहनुहुन्थ्यो । पछिल्लो समय राष्ट्रियसभामा उहाँको एक सिटको महत्व पनि बढेर गयो । झन भीम रावलको कारबाहीपछि पार्टीका नेता कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह हुन सकिरहेको थिएन । यो सबै अवस्थालाई मध्यनजर गर्दा उहाँलाई एमालेमा स्वागत गर्नु राम्रो हो भन्ने कुरा भयो । तर उहाँले एमाले फर्किसकेपछि वरियताको विषय उठाउनु हुन्छ त्यसमा पनि अहिलेको संरचनामा दोस्रै वरियता खोज्नु हुन्छ । त्यो तत्काल दिन सम्भव छैन । अर्को कुरा उहाँ पार्टीमा सक्रिय हुने भनेपछि फेरि गुटको विकास हुन्छ । त्यसले भोलिका दिनमा समस्या हुन सक्छ । समग्र विश्लेषणपछि तत्काल पार्टी प्रवेश भन्दा पनि सहकार्य गर्दै अघि बढौँ भन्ने निष्कर्ष निकालयो ।’

यो पनि पढ्नुहोस्

बामदेवबारे निर्णय लिन ओलीको घोषणा विपरित सरकारी निवासमा एमालेको बैठक

एमालेले गौतमलाई व्यवस्थापन गर्नका लागि विधानमा संशोधन गर्ने कामका लागि भनेर पार्टीको दोस्रो विधान महाधिवेशन २०८२ साल भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने निर्णय समेत गरेकोछ । तत्कालका लागि गौतमलाई एमालेमा स्वागत गर्ने विषयमा भने बाहिर देखिनेगरी वरियता बाधक बनेको छ ।

यसअघि पनि सार्वजनिक रूपमै एमालेले चाहे र वोलाए फर्किन तयार रहेको भनेर गौतमले भाषण नै गर्दै आउनुभएको छ । उहाँले कतिपय समयमा केपी ओलीले आफूलाई जिम्मेवारी दिए माधव र प्रचण्ड समेतलाई एक ठाउँमा ल्याउने दाबी समेत गर्दै आउनुभएको छ । तत्कालीन नेकपा विघटनको संघारमा पुर्याउन प्रभावकारी भूमिका खेल्नुभएको गौतमको एमाले प्रवेशको खबरले एमाले जनमा भने खुशीको सञ्चार भएको छ ।

प्रकाशित मिति : January 23, 2025 at 10:05 am