२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

बामदेवबारे निर्णय लिन ओलीको घोषणा विपरित सरकारी निवासमा एमालेको बैठक

९ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै घोषणा विपरित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीले बालुवाटारको सरकारी निवासमा एमालेको सचिवालय बैठक गर्नुभएको हो ।

उहाँले प्रधानन्त्रीको सपथ ग्रहण गरेकै २०८१ असार ३१ गते एमाले काठमाडाैँले पार्टीकै व्यानरमा प्रधानन्त्री निवासमा कार्यक्रम राखेपछि दैनिकीले ‘ओलीले प्रधानमन्त्रीको सपथ लिएकै दिन सरकारी निवासमा पार्टीको व्यानरमा कार्यक्रम’ समाचार मार्फत प्रश्न उठाएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले १७ साउनमा फेसबुक मार्फत आफू बिरामी नहुँदासम्म पार्टीको बैठक बालुवाटारमा नराख्ने घोषणा गर्नुभएको थियो । प्रधानन्त्रीको उक्त घोषणाबारे दैनिकीसहितका सञ्चार माध्यमले महत्वका साथ प्रकाशन गरेका थिए । दैनिकीमा ‘एमालेको कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवासमा नहुने, यस्तो छ ओलीको घोषणा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

प्रधानमन्त्रीले १७ साउनमा फेसबुक मार्फत आफू बिरामी नहुँदासम्म पार्टीको बैठक बालुवाटारमा नराख्ने घोषणा गर्नुभएको घोषणा ।

त्यसपछि पार्टी कार्यालय बाढीले डुब्ला एमालेले विवादित व्यवसायी विशाल पण्डितको बसेरा बुटिक होटलमा सचिवालयको बैठक गरेको थियो । तर मंगलबार भने प्रधानमन्त्रीले अाफ्नै घोषणा विपरित सचिवालय बैठक सरकारी निवासमा राख्नुभएको छ । शायद प्रधानमन्त्रीको घोषणा विपरित हुने भएकाले होला सदाजस्तै प्रधानमन्त्रीको सचिवालयले मंगलबारको सचिवालय बैठकको तस्बिर र भिडियोहरू सार्वजनिक गरेन । सचिवालयका सदस्यहरूलाई बैठकमा बोलाउँदा पनि राजनीतिक छलफलका लागि भन्दै निम्तो गरिएको थियो । यस सम्बन्धि समाचार दैनिकीमा ‘बामदेवसँग मिलेर एमाले सक्ने माधव सपनामा तुषारापात, अन्ततः बामदेव पनि ‘बा’ तिरै’ शीर्षकमा प्रकाशित गरेको थियो ।

एमाले महासचिव शंकर पोखरेलले मंगलबार सचिवालयको ४४ औं बैठकका निर्णय भनेर चार वटा निर्णय सार्वजनिक गर्नुभएको छ । विगतमा पार्टीको सचिवालय बैठकपछि महासचिव स्वयं वा उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारमाध्यमका क्यामरा अघि बसेर निर्णय सार्वजनिक गर्ने गर्नुभएकोमा मंगलबार भने महासचिवले फेसबुकबाट मात्रै निर्णय सार्वजनिक गर्नुभएको छ ।

महासचिव पोखरेलका अनुसार नेकपा(एमाले) केन्द्रीय सचिवालयको ४४ औँ बैठकले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी ढंगले संचालन गर्ने । अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय गरेको छ ।

dainiki.com

त्यस्तै अनुमोदन गर्न वाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्ण समेत भएको छ । यस्तै पार्टीको दोस्रो विधान महाधिवेशन २०८२ साल भाद्र २०, २१ र २२ गते ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने निर्णय भएको छ ।

बैठकले तत्कालै एमाले फर्किन चाहनुभएको पूर्व उपाध्यक्ष बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय पनि गरेको छ । गौतमले भने मंगलबार एमालेले निर्णय गरेपछि आज बुधबार नै आफू एमालेमा फर्किने बताउनुभएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १०:०८