२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

ग्रीन टीको फेसनदेखि नेपाली चियाको डलर यात्रासम्म

२२ कात्तिक, काठमाडौँ । नेपालमा चिया पिउने संस्कृति पुरानै भए पनि पछिल्लो समय ‘ग्रीन टी’को चर्चा स्वास्थ्य र फेसन दुवैसँग जोडिएर बढेको छ । तर ग्रीन टीको नाममा अत्यधिक तीतो चिया पिउनु वा यसको गुणबारे अपुष्ट धारणाको पछि लाग्नुभन्दा चियाको प्रकार, गुणस्तर, मात्रा र बनाउने तरिका बुझेर सेवन गर्नुपर्ने चिया व्यवसायी श्रीकृष्ण पाण्डे बताउँछन् ।

अर्गानिक टी हबका अध्यक्ष पाण्डेका अनुसार नेपालमा उत्पादन हुने चियालाई सामान्य पेय पदार्थका रूपमा मात्र हेर्ने होइन, ठूलो मूल्य अभिवृद्धि गर्न सक्ने कृषि उद्योगका रूपमा विकास गर्न आवश्यक छ। किसानले उत्पादन गरेको पातलाई प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सके चियाले नेपालमै ठूलो हिस्सा मूल्य सिर्जना गर्न सक्ने उनको भनाइ छ।

‘दैनिकी संवाद’मा माधवप्रसाद तिवारीसँग कुरा गर्दै पाण्डेले चिया संस्कृतिदेखि नेपाली चियाको सम्भावना, उत्पादन, बजार र निर्यातसम्मका विषयमा कुराकानी गर्दै पाण्डेले नेपालले कृषि उत्पादनमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।

किसानको उत्पादनलाई बजारको मूल्यमा निर्भर हुन नदिने प्रयास

पाण्डे आफैं कृषक परिवारबाट आएका हुन् । पाण्डेसँगै जोडिएका अर्गानिक टी हबका सबै सदस्य किसान परिवारबाटै आएका छन । पाण्डेका अनुसार किसानले धान, मकै, कोदो, तरकारीलगायत उत्पादन गर्दा बजारले निर्धारण गरेको मूल्य स्वीकार गर्नुपर्ने तर बीउ, मल र अन्य सामग्री खरिद गर्दा भने बजारकै मूल्य तिर्नुपर्ने अवस्था छ।

यही अनुभवबाट कृषि उत्पादनमा मूल्य अभिवृद्धि गर्ने सोच विकसित भएको उनले बताए।

सोही सोचअनुसार विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका कृषि परिवारका सन्तानहरू मिलेर अर्गानिक टी हब स्थापना गरिएको उनको भनाइ छ । करिब २०७६ सालतिर सुरु गरिएको संस्थाले इलाम नगरपालिका–१, साखेजुङमा चिया बगान सञ्चालन गर्नुका साथै काठमाडौंको ठमेल क्षेत्रमा बिक्री केन्द्रमार्फत नेपाली चिया विश्व बजारमा पुर्‍याउँदै आएको छ।

पाण्डेका अनुसार संस्थाले अहिले करिब दुई दर्जन प्रकारका चिया उत्पादन तथा बिक्री गर्दै आएको छ।

एउटै बगानबाट फरक स्वादका चिया

चियाको विशेषता एउटै बगानबाट फरक गुण र स्वादका चिया उत्पादन गर्न सकिनु रहेको पाण्डे बताउँछन् ।

उनका अनुसार हरियो चियामा प्रिमियम ग्रीन टी, स्पेसल ग्रीन टी, रेगुलर ग्रीन टी, क्लासिक ग्रीन टी र पर्ल ग्रीन टीलगायत विभिन्न प्रकार छन् । कालो चियामा गोल्डेन निडल, गोल्डेन टिप्स, हिमालयन गोल्डलगायतका उत्पादन छन् ।

dainiki.com

सेतो चिया र ऊलङ चियाका पनि छुट्टाछुट्टै प्रकार छन् । पातको गुणस्तर, टिपाइको चरण र प्रशोधन विधिले चियाको स्वाद, सुगन्ध र मूल्यमा ठूलो फरक पार्ने उनको भनाइ छ ।

“एउटै बगानको पातबाट पनि प्रशोधन गर्ने तरिका फरक पार्दा फरक प्रकारको चिया बनाउन सकिन्छ,” पाण्डेले भने ।

उनका अनुसार हरियो चिया र कालो चियाबीचको मुख्य अन्तर प्रशोधन प्रक्रियामै हुन्छ। हरियो चियामा अक्सिडेसन कम गरिन्छ भने कालो चियामा अक्सिडेसनको प्रक्रिया बढी हुन्छ।

नेपाली चियाको मूल्य किलोमै ३० हजारसम्म

अर्गानिक टी हबमा बिक्री हुने चियाको मूल्य गुणस्तर र प्रकारअनुसार फरक–फरक रहेको पाण्डेले बताए।

उनका अनुसार सामान्य ३–४ पातको चियाको मूल्य प्रतिकिलो करिब ५ हजार रुपैयाँबाट सुरु हुन्छ भने विशेष गुणस्तरको निडल टीको मूल्य ३० हजार रुपैयाँसम्म पुग्छ।

त्यसैले चियालाई सामान्य कृषि उत्पादनभन्दा मूल्य अभिवृद्धि गर्न सकिने उच्च मूल्यको कृषि वस्तुका रूपमा विकास गर्न सकिने उनको तर्क छ।

उनका अनुसार थोरै मात्रामा प्रयोग हुने भएकाले महँगो देखिए पनि गुणस्तरीय चियाको प्रतिकप लागत धेरै महँगो नपर्न सक्छ।

ग्रीन टी तीतो हुनैपर्छ भन्ने छैन

ग्रीन टीका विषयमा रहेको एउटा आम धारणा गलत भएको पाण्डेको भनाइ छ । ग्रीन टी अत्यधिक तीतो हुनुपर्ने वा धेरै बेर उमालेर पिउनुपर्ने होइन ।

उनका अनुसार पानीको तापक्रम, चियाको मात्रा र राख्ने समयले चियाको स्वादमा ठूलो प्रभाव पार्छ। सामान्यतया धेरै तातो पानी प्रयोग गर्नुको सट्टा करिब ७०–८० डिग्री सेल्सियसको पानीमा छोटो समय राखेर चिया तयार गर्दा राम्रो स्वाद आउने उनको अनुभव छ।

“ग्रीन टी भनेको तीतो नै हुनुपर्छ भन्ने होइन । राम्रो ग्रीन टीको आफ्नै स्वाद र मिठास हुन्छ,” पाण्डेले भने।

उनले चियाको गुणस्तर र व्यक्तिगत स्वास्थ्य अवस्थाअनुसार सेवन गर्नुपर्नेमा जोड दिए।

नेपालमै उत्पादन हुने चिया छाडेर आयातमा निर्भर हुनुपर्ने अवस्था छैन

नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि बजारमा विभिन्न प्रकारका विदेशी चिया र विशेषगरी म्याचा पाउडरको माग बढिरहेको पाण्डे बताउँछन्।

उनका अनुसार नेपालमा म्याचा उत्पादनका लागि आवश्यक प्रविधि, उपकरण र लगानीको अभाव रहेकाले जापानलगायतबाट म्याचा आयात हुने गरेको छ। तर सामान्य ग्रीन टीका लागि भने नेपालसँग आफ्नै उत्पादन क्षमता रहेको उनको भनाइ छ।

“नेपालमै उत्पादन हुने चियालाई छाडेर सामान्य चियाका लागि आयातमा निर्भर हुनु आवश्यक छैन,” उनले भने।

चिया उद्योगमा सबैभन्दा ठूलो समस्या बजार र गुणस्तर

नेपालको चिया उद्योगको समस्या उत्पादन मात्र नभएर बजार, गुणस्तर, प्रमाणीकरण र अन्तर्राष्ट्रिय मापदण्डसँग जोडिएको पाण्डे बताउँछन् ।

विदेशमा चिया पठाउँदा गुणस्तर परीक्षण, क्वारेन्टाइन, उत्पत्तिको प्रमाणपत्र, खाद्य सुरक्षा सम्बन्धी कागजात र अन्य आवश्यक प्रमाणपत्र जुटाउनुपर्ने हुन्छ। नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला र दक्ष प्राविधिक जनशक्ति पर्याप्त नहुँदा निर्यातकर्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ।

चिया उत्पादन गर्ने किसान र उद्योगीलाई अन्तर्राष्ट्रिय बजारले कस्तो चिया खोजिरहेको छ भन्ने जानकारीसमेत आवश्यक रहेको उनले बताए।

“बजारले कुन प्रकारको चिया खोजिरहेको छ भन्ने अध्ययन नगरी कारखाना खोल्नु मात्र पर्याप्त हुँदैन,” पाण्डेले भने।

चीनसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको सम्भावना

पाण्डेका अनुसार नेपाली चियाका लागि चीनसहित युरोप, जापान, अमेरिका, क्यानडा र अन्य अन्तर्राष्ट्रिय बजारमा सम्भावना छ। तर बजारमा प्रवेश गर्न गुणस्तर प्रमाणित गर्ने प्रणाली र निर्यातसम्बन्धी कागजी प्रक्रिया सहज बनाउनुपर्ने उनको भनाइ छ।

विशेषगरी चीनतर्फ निर्यात गर्दा उत्पत्तिको प्रमाणपत्रलगायत प्रक्रिया छिटो र व्यवस्थित बनाउनुपर्ने उनले बताए।

सरकारले सम्बन्धित देशका सरकारसँग समन्वय गरेर प्रयोगशाला, प्राविधिक जनशक्ति, गुणस्तर प्रमाणीकरण र पारस्परिक मान्यता प्रणाली विकास गर्नुपर्ने उनको सुझाव छ।

चिया क्षेत्रमा ‘टी मास्टर’को अभाव

नेपालको चिया उद्योगमा प्राविधिक जनशक्तिको अभाव अर्को ठूलो समस्या रहेको पाण्डे बताउँछन्।

उनका अनुसार चिया टिप्ने किसानदेखि प्रशोधन गर्ने उद्योगसम्म गुणस्तरीय उत्पादनका लागि प्राविधिक ज्ञान आवश्यक छ। इलामलगायत चिया उत्पादन हुने क्षेत्रमा चिया केन्द्रित प्राविधिक शिक्षा, तालिम र अनुसन्धानको व्यवस्था गर्नुपर्ने उनले बताए ।

चिया उद्योगका लागि दक्ष ‘टी मास्टर’ उत्पादन गर्न सके नेपाली चियाको गुणस्तर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने उनको भनाइ छ।

सडक बिग्रिँदा चिया बजारसम्म पुग्नै ढिलो

चिया उत्पादन हुने क्षेत्रको पूर्वाधार कमजोर हुँदा किसान र उद्योगी दुवैले ठूलो क्षति व्यहोर्नुपरेको पाण्डेले बताए ।

कन्याम–साखेजुङ क्षेत्रको सडक तथा पुलमा भएको क्षतिका कारण चिया काठमाडौं ल्याउन लामो समय लाग्ने गरेको उनले उदाहरण दिए ।

कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने सडक, पुल र अन्य पूर्वाधारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।

अनुदानको नाममा किसानलाई झन् समस्यामा नपारियोस्

सरकारले कृषि क्षेत्रमा दिने अनुदान र सहुलियत कार्यक्रम प्रभावकारी हुन नसकेको पाण्डेको गुनासो छ।

सानो किसानले अनुदान लिन आवश्यक कागजात र प्रक्रियामै समस्या भोग्ने तथा कतिपय अवस्थामा बिचौलियाले त्यसको फाइदा उठाउने गरेको उनले बताए।

कृषकलाई वास्तविक लागतमा उपकरण र प्रविधि उपलब्ध गराउने, सरल प्रक्रिया बनाउने र अनुदानको दुरुपयोग रोक्ने प्रणाली आवश्यक रहेको उनको सुझाव छ।

चिया मात्रै होइन, चिया पर्यटन पनि

नेपालको चिया उद्योगलाई पर्यटनसँग जोड्न सके थप आम्दानी र रोजगारी सिर्जना गर्न सकिने पाण्डे बताउँछन्।

चिया बगान, उत्पादन प्रक्रिया, प्रशोधन र स्थानीय संस्कृतिलाई जोडेर ‘टी टुरिज्म’ विकास गर्न सकिने उनको भनाइ छ। कृषि अध्ययन तथा अनुसन्धानका लागि विदेशी विद्यार्थी र पर्यटकलाई चिया उत्पादन क्षेत्रमा ल्याउन सके स्थानीय समुदायले समेत लाभ लिन सक्ने उनले बताए।

उनका अनुसार चिया, कफी, छुर्पीलगायत नेपाली कृषि उत्पादनलाई व्यवस्थित रूपमा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको ठूलो आधार बन्न सक्छ।

कृषिलाई उद्योगसँग नजोडेसम्म किसानको अवस्था बदलिँदैन

पाण्डेको निष्कर्षमा नेपालले कृषिलाई परम्परागत खेतीका रूपमा मात्र हेरेर हुँदैन। उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ र निर्यातसम्मको सम्पूर्ण मूल्य शृंखला नेपालमै निर्माण गर्न सके कृषि नै आर्थिक रूपान्तरणको बलियो आधार बन्न सक्छ।

“किसानले उत्पादन मात्र गर्ने होइन, उत्पादनको मूल्य अभिवृद्धिमा पनि सहभागी हुनुपर्छ,” पाण्डेले भने।

उनका अनुसार नेपाली चियाको वास्तविक सम्भावना बगानमा मात्र होइन, त्यसलाई अन्तर्राष्ट्रिय बजारले खोजेको गुणस्तर र ब्रान्डमा बदल्न सक्ने क्षमतामा छ।

त्यसका लागि किसानको उत्पादन, उद्योगको प्रविधि, सरकारको नीति र अन्तर्राष्ट्रिय बजारलाई एउटै शृंखलामा जोड्नुपर्ने उनको सुझाव छ।

प्रकाशित मिति : November 8, 2026 at 11:33 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/