पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
१२ मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको सडकबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ शुक्रबार साँझ सडक छेउबाट भिरमा खसेपछि बेपत्ता भएका हुन् । गुरुङ कक्षा ९ मा अध्ययनरत थिए ।
प्रहरीका अनुसार पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा उनी सवार थिए । शुक्रबार साँझ करिब ६ः१० बजे शौच गर्नका लागि बसबाट सडक छेउमा जाने क्रममा उनी अचानक भिरबाट खसेका थिए ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार गुरुङ सडकबाट करिब ५० देखि ६० मिटर तल खसेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा उद्धार अभियान थालेको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।
प्रहरी टोलीले तत्काल खोजी तथा उद्धार सुरु गरे पनि गुरुङको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 28, 2026 at 9:55 pm














