नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। उक्त अवधिमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि विशेष प्रविधि प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो। पछिल्लो समय वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्न थालेपछि सडक सुरक्षाका लागि दीर्घकालीन उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ।
रोकथामका क्रममा भिरमा रहेका ठूला ढुङ्गा पन्छाउने, स्लोप व्यवस्थापन गर्ने तथा पहिरो प्रभावित क्षेत्रमा किला रड ठोकेर भिरलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। भिरबाट रसाएर आउने पानीलाई बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ निर्माण गर्नुका साथै बायोइन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिनेछ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए। उनका अनुसार पहिरो रोकथामको मुख्य उपाय भने नेलिङ प्रविधि हुनेछ।
गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि त्यहाँको कामलाई प्राथमिकता दिँदा तुइनखोलाको काम रोकिएको शर्माले बताए। कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा रोकथामको काम अघि बढाउन लागिएको हो।
सडकको अवस्थालाई हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने देखिए पनि प्राविधिक मूल्याङ्कनपछि वास्तविक अवधि तय हुने शर्माले बताए।
“सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ । प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ,” शर्माले भने।
उनका अनुसार पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र त्यसपछि पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउनेछ। घोप्टेभीरको काम सम्पन्न भएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ।
यसैबीच, काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक बन्दका कारण यात्रु तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै यात्रुहरूलाई सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति : November 28, 2026 at 7:35 am














